नियम १६
दाबी विरोध तथा उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन
(१) समानुपातिक निर्वाचन प्रणाली बमोजिम आयोग समक्ष प्राप्त हुन आएको उम्मेदवारको बन्दसूची आयोगले ऐन तथा यस नियमावली बमोजिम जाँचबुझ गरी सार्वजनिक गरेपछि त्यस्तो सूचीमा नाम समावेश भएका कुनै उम्मेदवार संविधान तथा ऐन बमोजिम योग्यता नपुगेको भनी कुनै मतदाताले आयोग समक्ष दाबी विरोध गर्न  सक्नेछ । (२) उपनियम (१) बमोजिम पर्न आएको दाबी विरोध उपर आयोगले आवश्यक जाँचबुझ गर्दा कुनै उम्मेदवारको योग्यता नपुगेको देखिएमा त्यस्तो उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाई आयोगले उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्नेछ । तर यसरी कुनै उम्मेदवारको नाम उम्मेदवारको बन्दसूचीबाट हटाउनु अघि निजलाई आफ्नो भनाई पेश गर्ने मौका दिनु पर्नेछ ।